- Loading...
नक्सा पास नभएका ठुला होटेललाई एमालेको संरक्षण
- बागमती दैनिक
- ४ महिना अघि
- १४३ पटक पढिएको
नक्सा पास नगरी निर्माण भएका तारे होटेललाई एमालेले संरक्षण गरेको पाइएको छ । काठमाडौँ महानगरपालिका भित्र निर्माण सम्पन्न भएका दुई ठुला होटेलहरू नक्सा पास बिना नै निर्माण सम्पन्न भएको तथ्य सार्वजनिक भएपछि यस्तो रहस्य खुल्न आएको हो ।
यस्तै सार्वजनिक भएकाे एक तथ्यमा काठमाडौँको नक्साल स्थित होटेल हिल्टन र सिंहदरबार स्थित होटेल बसेरा बुटिकको नक्शापास नगराई भवन निर्माण गरेको पाइएको छ ।
काठमाडौँ महानगरपालिकाले दिएको जानकारी अनुसार हिल्टन र बसेरा होटेलले नक्सा पास नै नगरी व्यवसायीक भवन निर्माण गरेका हुन् ।
नक्सा पास विनै निर्माण सम्पन्न, ओलीद्वारा उद्घाटन
नक्साल स्थित होटेल हिल्टन शङ्कर ग्रुपको लगानीमा निर्माण भएको हो । निर्माण सम्पन्न भए पनि नक्सा पास नगराई ओलीद्वारा होटेलको उद्घाटन गरिएको छ । संविधानतः कुनै पनि संरचनाको नक्सा पास स्थानीय तहको एकल अधिकार भित्रको विषय हो । यस अघि पनि नक्सा पास नगरी सञ्चालन गरेका वानेश्वरको अल्फविटा, नर्भिक अस्पतालमा पनि नक्सा पासको विषयमा विवाद भएको थियो । यो होटेलको विषयमा पनि विवाद हुने निश्चित छ ।
तर, नयाँ सडकमा फुटपाथ निर्माणको विषयमा काठमाडौँमा एमालेको ओली समूह र मेयर बालेन्द्र साह आमनेसामने देखिएका छन् । यहि मौकामा ओलीले मेयर बालेनलाई नक्सा पास नै नभई निर्माण सम्पन्न भएको होटेलमार्फत कूटनीतिक टक्कर दिएको बुझ्न गाह्रो छैन ।
हिल्टन सञ्चालकको काण्डै काण्ड, ओलीको सहयोग
नक्साल स्थित होटेल हिल्टनका सञ्चालकहरू विभिन्न काण्डमा मुछिएको पाइएको छ । हिल्टनका सञ्चालक शाहिल र उनका भाइ सुलभ अग्रवाल विभिन्न समयमा विवादमा तानिएका व्यक्तिहरू हुन् ।
उनीहरू सञ्चालक रहेको कम्पनी जगदम्बा स्टिलले गुणस्तरहिन रडको उत्पादन गरेको पाइएकोले नाप तथा गुणस्तर विभागले केही समय अगाडी कारबाही गरेको थियो । त्यस्तै डेडिकेटेड तथा ट्रंकलाई प्रयोग गरेबापत जगदम्बा स्टिल्सले अर्बौँ रुपैयाँ नेपाल विद्युत् प्राधिकरणलाई तिर्न बाँकी छ ।
२०७५ सालका चैत्रमा केपी ओली प्रधानमन्त्री भएको बेला सुलभ अग्रवाल थर्मल गन कालोबजारी गर्दै गर्दा पक्राउ परेका थिए । कूटनीतिक नम्बर प्लेटको सवारी प्रयोग गरेर कालोबजारी गर्दा गर्दै पक्राउ परेका बेला भानुभक्त ढकाल स्वास्थ्य मन्त्री थिए ।
चार हजार पाँच सय मूल्य पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्न लाग्दा ६७ थान गन सहित महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको थियो ।
अधिग्रहण गर्नुपर्ने होटेल बसेरा एमाले मुख्यालय
अविरल वर्षा पछि डुबानमा परेको एमाले मुख्यालय च्यासललमा एमाले केन्द्रीय समितिको बैठक बस्न सकेन । उसले सिंहदरबार नजिकै रहेको होटेल बसेरामा बैठक बोलायो । यो होटेल विभिन्न विवादमा तानिँदै आएको होटेल हो । जसको संरक्षण एमालेले गरेको आरोप छ । सरकारको एक समितिले सो होटेललाई मापदण्ड विपरीत निर्माण गरिएको भन्दै अधिग्रहण गर्न सिफारिस गरिएको थियो ।
वि.सं. २०७६ सालमा काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको संयोजकत्वमा गठित समितिले सुरक्षा चुनौती रहने भन्दै राष्ट्रपति भवनअगाडिको ‘सीई-रियल स्टेट भवन’ र सिंहदरबार अगाडिको बसेरा बुटिक होटेल अधिग्रहण गर्नुपर्ने प्रतिवेदन तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादललाई बुझाएको थियो ।
सहसचिव आचार्यको प्रतिवेदनमा भिआइपीका कार्यालय तथा निवासबाट पेस्तोल र राइफलको न्यूनतम प्रहार गर्न मिल्ने क्षेत्र वरपर पाँच तलाभन्दा अग्ला भवन बनाउन प्रतिबन्ध लगाउनुपर्ने उल्लेख थियो । प्रतिवेदन बुझ्दै तत्कालीन गृहमन्त्री बादलले सुरक्षा चुनौती हुने गरी मापदण्ड उल्लङ्घन गरेर बनाइएका सो भवन अधिग्रहण गर्न प्रक्रिया अघि बढाइने बताएका थिए ।
यस्तै होटेलका सञ्चालक विशाल पण्डित विरुद्ध मधेसलगायत प्रदेशमा स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दासमेत हालेको छ । सो मुद्दा अहिले विचाराधीन छ ।