- Loading...
माओवादीमा विवाद : सुल्झियो कि झन् बल्झियो ?
- बागमती दैनिक
- ४ महिना अघि
- १४६ पटक पढिएको
काठमाडौँ । माओवादीका तत्कालीन नेता मोहन वैद्य र बाबुराम भट्टराई अलग भइसकेपछि अध्यक्ष पुष्पकमल दाहालको ‘लाइन र लिडरसिप’ माथि पहिलोपटक लिखित रूपमा प्रश्न उठेको छ । पछिल्लो स्थायी समितिमा उपमहासचिव जनार्दन शर्मा र सचिव राम कार्कीले लिखित र मौखिक रूपमा ‘लाइन र लिडरसिप’ माथि प्रश्न उठाएका हुन् । २०४५ देखि पार्टीको मुख्य नेतृत्वमा रहेका दाहालमाथि यसअघि वैद्य र भट्टराईले मात्रै चुनौती दिएका थिए । माओवादीबाट वैद्य र भट्टराई बाहिरिएपछि दाहाल पार्टी निर्णयमा सर्वेसर्वा हुँदै आएका थिए । भट्टराईले त सशस्त्र युद्धकै बेला ‘युद्धका सर्वोच्च कमान्डर’ दाहालमाथि २०६० तिर प्रश्न उठाउँदा आफ्नै लडाकुको घेराबन्दीमा परेका थिए । त्यसपछि चुनावाङ बैठकमा दाहाल र भट्टराईबीच समझदारी त बन्यो, तर त्यो मतभेद कहिल्यै समाधान भएन । अन्ततः २०७२ मा संविधान जारी भएपछि भट्टराईले माओवादी पार्टी नै त्याग गरे । २०६० जेठमा चुनवाङमा माओवादी केन्द्रीय समितिको बैठकबाट इतिहासका अनुभव र २१ औं शताब्दीमा जनवादको विकासबारे दस्तावेजमा ‘सामन्तवाद–साम्राज्यवाद विरोधी शक्तिसँग राजनीतिक प्रतिस्पर्धा गर्ने निर्णय’ गरेपछि दाहाल र भट्टराईबीच एकता भयो । त्यही बैठकबाट राजाको शासनविरुद्ध आन्दोलन गरिरहेका कांग्रेस, एमालेलगायत सात दलसँग ‘मोर्चाबन्दी’ गर्ने वातावरण बनेको थियो । २०६९ जेठ ३ मा बौद्धमा सम्पन्न भेलाद्वारा मोहन वैद्यको नेतृत्वमा नेकपा माओवादीको गठन भयो । २०६९ असारमा एकीकृत नेकपा (माओवादी) औपचारिक रूपमा विभाजित बन्यो । त्यसपछि वैद्य क्रान्तिकारी माओवादीको अध्यक्ष रहँदै आएका छन् । २०६८ साउनमा लतिपुरको धोबीघाट भेला गरी मोहन वैद्य, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा एक भई दाहालले मुख्य नेतृत्वको हैसियतले पार्टी सत्ताको दुरुपयोग गरेको आरोप लगाएका थिए । त्यसको केही समयपछि दाहालले २०६८ भदौमा भट्टराईलाई प्रधानमन्त्रीका रुपमा अघि सारेका थिए । पार्टीको प्राधिकार आफ्नो हातमा लिँदै आएका दाहालमाथि खुला प्रश्न उठाएर विकल्प दिन आग्रह गर्नुका पछाडि पार्टी अन्तरसंघर्षको आगो तलसम्म फैलिइसकेको देखिन्छ । यद्यपि, दाहालले गत शनिबार माओवादीको रुकुम–काठमाडौं सम्पर्क मंचको सम्मेलनमा आफू र जनार्दनबीच विश्वास र आशंकाको सम्बन्ध रहँदै आएको उल्लेख गर्दै ‘आगो बाल्न अगुल्टो ठोसेको’ टिप्पणी गरे । त्यही कार्यक्रममा जनार्दनले दाहालको निर्देशनअनुसार आफू कहिले एमाले, कहिले कांग्रेससित सहकार्य गर्न पुगेको सन्दर्भ उल्लेख गर्दै ‘कहिले एमाले र कहिले कांग्रेस’ भएको होइन, अत्याचार पनि खेपेको’ बताए । त्यसपछि दाहालले जनार्दनतिर संकेत गर्दै प्रतिक्रियावादीले पार्टी फुटाउन षड्यन्त्र गरेको बताएका थिए । ‘मेरो र प्रभावकार (शर्मा) बीच बेलाबेला अगुल्टो ठोसिएझैं हुने गरेकै छ । यो आगो बाल्ने काम खाना पकाउनका लागि भएको छ,’ उनले भने, ‘मेरो अघि हुँदा मलाई महान् नेतृत्व भन्ने र बाहिर गएपछि धारेहात लगाउने प्रवृत्ति बढेको छ । यसपटक प्रभाकरजीको मनको कुरा बाहिर आओस् भन्ने थियो । मैले प्रभाकरले पार्टी फुटाउँदैछ भनेको होइन ।’ उनले माओवादी फुटाउन शर्मा नभई अरु नै शक्ति लागेको पनि दाबी गरे । ‘प्रतिक्रियावादीहरू पार्टी फुटाउन लागेकै छन्,’ उनले भने, ‘प्रतिक्रियावादी षड्यन्त्र खारेज भएको छ । प्रभाकरले पार्टी फुटाउँदै भन्ने भ्रम चिरिइसकेको छ ।’ दाहालअघि बोलेका जनार्दनले पार्टी फुटाउन कसैले उक्साएको भए पनि पार्टी बनाउन आफूले लिखित मत राखेको बताए । ‘एमालेसँग पार्टी मिल्दा मलाई एमाले बनाइयो, कांग्रेससित मिल्दा कांग्रेस । मलाई माओवादीचाहिँ किन बनाइएन ?’ उनले प्रश्न गरे । जनार्दनले नै पार्टीभित्रको विवादबारे स्पष्टीकरण सुन्न दाहाललाई रुकुम—काठमाडौं सम्पर्क मंचको सम्मेलनमा प्रमुख अतिथिका रूपमा बोलाएका थिए । तर त्यो कार्यक्रममा जनार्दन आक्रोशित रूपमा प्रस्तुत भएका थिए भने दाहालले स्थायी समितिमा खुला छलफल भएकाले सबै कुरा स्पष्ट भइसकेको बताए । जनार्दनले राजनीतिक र वैचारिकका साथै नेतृत्व र व्यक्तिगत आरोपबारे आगामी केन्द्रीय समितिमा छलफल हुने निकट नेतासँग बताएका छन् । दाहालले पार्टीभित्रको विवादको आगो निभेको बताए पनि नेताहरूले भुसको आगोझैं सल्किरहेको टिप्पणी गरेका छन् । यो अन्तरसंघर्षको आगो महाधिवेशनसम्म ननिभ्ने उनीहरूको दाबी छ । माओवादी सचिव राम कार्कीले धेरै समयपछि पार्टीमा ‘लाइन र लिडरसिप’ बारे छलफल सुरु भएको बताए । ‘यो बहस अब केन्द्रीय समिति हुँदै महाधिवेशनसम्म जान्छ,’ उनले भने, ‘अहिलेको लाइन चुनावमा भाग लिने, सरकारबाट हस्तक्षेप गर्ने भन्ने छ । सदनमा पनि केही देखिएन, सडकमा पनि देखिएन । जे देखियो सरकारमा देखियो । विगत १५ वर्ष सरकारमा सहभागी भएर समाजवादको आधार कति तयार भयो त ?’ उनले नेतृत्वको कार्यशैली, चरित्र, आचरणमाथि प्रश्न उठाउनु व्यक्तिगत नभएको पनि बताए । ‘यही पुँजीवादी प्रणालीबाट कसरी समाजवाद आउँछ ? जनार्दनले पनि उठाउनु भएको छ,’ उनले भने, ‘स्थायी समितिमा अगुल्टो ठोसेको हो कि भुसमा आगो सल्काएको हो ? साँच्चै अगुल्टो ठोसेर आगो बाल्न खोजेको हो भने महाधिवेशनसम्म गम्भीर आत्मसमीक्षा देखिनुपर्छ । आफ्ना गल्ती सुधार्ने दिशामा कदम चाल्नुपर्छ ।’ माओवादीका अर्का सचिव गणेश साहले मुख्य नेतृत्व र उनले लिएको कार्यदिशाप्रति देखिएको गहिरो असन्तुष्टि समाधानका लागि धेरै मिहिनेत गर्नुपर्ने बताए । ‘माओवादीको समस्या कुन रूपमा समाधान हुन्छ भन्न गाह्रो छ,’ उनले भने, ‘प्रचण्डमाथि पार्टीभित्र र बाहिर धेरै प्रश्न उठेका छन् । उहाँले डेढ वर्ष शासनकालमा नेतृत्वलाई वास्ता गर्नभएन । त्यसैले नेतृत्वमा देखिने, नदेखिने असन्तुष्टि, कुण्ठा व्याप्त छ । धेरै नेताहरूमा असन्तुष्टिको घाउ गहिरो गरी परेको छ ।’ पार्टी बाहिर पनि दाहालले विश्वास जित्न कसरत गर्नुपर्ने उनले बताए । ‘आफू सरकारको नेतृत्वमा रहँदा वामपन्थीबीच एकता नगरेको, उपेन्द्र यादव अध्यक्ष रहेको जसपा नेपाल विभाजन गर्ने धरातल बनाएको, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बेवास्ता गरेको आरोप दाहालमाथि लाग्दै आएको छ,’ उनले भने । दाहालको एकताको प्रस्तावमा वाम र समाजवादी दलहरू सकारात्मक हुन नसकेको पनि उनले बताए । ‘प्रचण्ड प्रधानमन्त्री हुँदा कसैसँग एकता भएन । चुनावअघि बाबुरामसँग पनि एकता हुन्छ भन्नुभयो । एकता किन भएन ? उत्तर छैन,’ उनले भने, ‘सरकारबाट बाहिरिएपछि एकताको कुरा धुमधामसँग उठेको छ । के यही पाराले होला त एकता ?’ उनले दाहाल र शर्माबीचको लडाइँ राज्य र पार्टी सत्तामाथिको स्रोत साधनमाथिको लडाइँका रूपमा बुझ्न सकिने पनि बताए । ‘दुई नेताबीच स्रोत र साधनमा कसको हैकम हुने विवाद होला,’ उनले भने, ‘यतिबेला कम्युनिस्ट पार्टी न एकता गर्छन्, न पार्टी फुटाउँछन् । न एकता बलियो हुन्छ, न अर्को पार्टी बनाउने हिम्मत नै छ ।’ अर्का एक पदाधिकारीले माओवादी बलियो बनाउने दाहालका पारिवारिक उत्तराधिकारीका लागि हो कि लामो संघर्ष गरेका नेताका लागि हो भन्ने प्रश्न पनि गरेको बताए । ‘प्रचण्डले सच्चिने रियलाइज गरे पनि विश्वास गर्न गाह्रो भयो । सरकारमा भएका बेला पार्टीको अन्य नेतृत्वलाई बेवास्ता किन गरेको ?’ ती नेताको प्रश्न छ, ‘अब कसका लागि पार्टी बनाउने ? प्रचण्ड परिवारका लागि कि वरिपरिका व्यक्तिका लागि ?’ -कान्तिपुरबाट