- Loading...
आजदेखि कात्तिक स्नान सुरु, आकाशदीप दान र तुलसीको पूजा गरिँदै
- बागमती दैनिक
- २ महिना अघि
- ८४ पटक पढिएको
कार्तिक १, काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक स्नान, आकाशदीप दान एवं तुलसीको विशेष पूजा आराधना आजदेखि सुरु भएको छ ।
आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको विशेष पूजा आराधना, आकाशदीप दान गरेमा सौभाग्य, सम्पत्ति एवं यश प्राप्ति हुने धार्मिक विश्वास छ । आकाशदीप दान पाएसम्म बाँस, नपाएमा पलाँस, खयर, पीपल, आदिको लिङ्गो ठड्याएर बालिन्छ । आकाशदीप दान भगवान् विष्णुलाई समर्पण गरी बाल्ने गरिन्छ ।
आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घरघरमा विशेषरुपमा तुलसीको पूजा गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । तुलसी पूजा सूर्योदय अघिनै गरिसक्नुपर्ने मान्यता छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गरे महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद्हरू बताउँछन् ।
कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ । यस अवसरमा आज स्वयम्भू चैत्यमा महादीप दानसमेत गर्ने गरिन्छ ।