- Loading...
बेनिघाट रोराङमा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, खेलकुद अपरिहार्य भएको अध्यक्ष थपलियाको भनाई
- बागमती दैनिक
- १ महिना अघि
- १३६ पटक पढिएको
गजुरी । धादिङ बेनिघाट रोराङ गाउँपालिकामा माबि स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ सुरु भएको छ । बेनिघाट रोराङ गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा चन्द्रोदय माबि बिशालटारमा रनिङ शिल्ड सुरु भएको हो ।
शुक्रबारसम्म ६ दिन आयोजना हुने प्रतियोगिताको पहिलो दिन आज दौड, भलिबल, फुटबल, हाईजम्प, लङजम्प, कबड्डी, मार्शल आर्टतर्फ कराते, तेक्वान्दो, उसु लगायतका खेलहरु समाबेश गरिएको छ । विद्यालयस्तरमा रहेका प्रतिभालाई खेलमार्फत छनौट गरि उत्कृष्ट खेलाडी बनाउने उदेश्यका साथ हरेक बर्ष रनिङसिल्ड प्रयिोगीता आयोजना गर्दै आएको उद्घाटन समारोहमा पालिका अध्यक्ष बिवेक थपलियाले जानकारी दिनुभयो ।
पालिकाभित्र सामुदायिक र नीजि गरि १२ वटा विद्यालयका करीब ७ सय खेलाडीहरुको सहभागिता रहेको छ । सहभागी सबै बिद्यार्थीले शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् भने उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरमा सहभागी गराइने र त्यसपछि प्रदेशमा सहभागिता गराउने योजना रहेको छ ।
प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष बिवेक थपलियाले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताउनुभयो । प्रतियोगिता जितेर आउने विद्यार्थीलाई पालिकाले पुरस्कृत गर्ने घोषणा गर्नुभयो । खेलक्षेत्रको विकास र नयाँ प्रतिभाको पहिचान गर्न प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विद्यार्थीलाई अनुशासित बनाउन समेत खेलकुदले सिकाउने बताउँदै खेलाडीहरूले समाज, राष्ट्रका लागि योगदान गर्न सक्ने भएकाले विद्यार्थी उमेरदेखि नै खेलकुदमा सक्रिय हुन उहाँले अनुरोध गर्नुभयो ।
राष्ट्रपति रनिङसल्डि प्रतियोगीता के हो ?
राष्ट्रपति रनिङ शिल्ड एक राष्ट्रिय स्तरको विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हो । २०६५ साल सम्म यो प्रतियोगितालाई वीरेन्द्र रनिङ शिल्डका रुपमा आयोजना गरिन्थ्यो । २०६५ साल साउनमा नेपालमा प्रथम राष्ट्रपति निर्वाचन भएपछि यस प्रतियोगिताको नाम राष्ट्रपति रनिङ शिल्ड रहन गयो । त्यसैले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सुरुवात २०६६ साल देखि भएको हो ।
राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता चालु शैक्षिक सत्रमा १८ वर्ष भन्दा मुनिका कक्षा १२ सम्म नियमित रुपमा अध्ययनरत छात्र छात्राहरू बीच आआफ्नो समूहमा हुने भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्ट प्रतियोगिताहरू पर्दछन् । यो प्रतियोगिता स्थानीय तहस्तर, जिल्लास्तर, प्रदेशस्तर र केन्द्रस्तरमा संचालन हुन्छ । तर अन्तर्राष्ट्रिय स्तरमा खेलिसकेका खेलाडी भने यस प्रतियोगितामा सहभागी हुन पाउँदैनन् ।
प्रतियोगितालाई अनुशासित, मर्यादित र व्यवस्थित बनाउन नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन निर्देशिका, २०७० बनाई लागू गरेको छ । राष्ट्रपति रनिङ शिल्ड एक नियमित प्रतियोगिता भएकोले अघिल्लो वर्षको शिल्ड नै बिजयीलाई रनिङ शिल्डको रुपमा उपलब्ध गराउने व्यवस्था छ । तर लगातार ३ वर्ष सम्म एउटै विद्यालय, स्थानीय तह, जिल्ला र प्रदेश शिल्ड जितेमा सो शिल्ड उनीहरूले सँधैका लागि राख्न पाउने व्यवस्था छ ।
आगामी वर्षको प्रतियोगिताको लागि आयोजकले नयाँ शिल्ड बनाउनु पर्नेछ । प्रतियोगिता संचालन गर्न खेलकुद पुर्वाधार पर्याप्त भएको विद्यालय, जिल्ला र प्रदेशमा आलोपालो गर्नुपर्दछ । प्रत्येक वर्षको लागि खेलको प्रतीक चिन्ह मस्कट केन्द्रीय समितिले सिफारिस गरे बमोजिम हुन्छ । स्थानीय तह स्तरको उत्कृष्ट खेलाडीले जिल्ला स्तरमा प्रतिस्पर्धा गर्न पाउने र जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भई उत्कृष्ट स्थान हाँसिल गर्ने खेलाडीहरूलाई सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिसमा प्रदेश स्तरमा प्रतिस्पर्धा गराइन्छ ।
यसरी सातै प्रदेशमा प्रदेश स्तरीय प्रतिस्पर्धामा उत्कृष्ट स्थान हाँसिल गर्ने खेलाडीहरूलाई प्रदेश स्तरीय खेलकुद विकास समितिको सिफारिसमा केन्द्र स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विभिन्न खेलकुद प्रतियोगितामा सहभागी गराइन्छ ।