FLASH NEWS
  • Loading...

पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेलसहितका नेताहरूद्धारा बागमती प्रदेश प्रमुख लामालाई ध्यानाकर्षणपत्र

  • बागमती दैनिक
  • १ महिना अघि
  • ६४ पटक पढिएको
पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेलसहितका नेताहरूद्धारा बागमती प्रदेश प्रमुख लामालाई ध्यानाकर्षणपत्र

गजुरी । माओवादी केन्द्रले विभिन्न आठबुँदे मागसहित मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई ध्यानाकर्षण गराएको छ ।
एक सय दिनको उपलब्धि सार्वजनिक गरेकै दिन मुख्यमन्त्री लामालाई भेटेर माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेलसहितका नेताहरूले ध्यानाकर्षणपत्र बुझाउनुभएको हो ।

ध्यानाकर्षणपत्र बुझाउँदै जम्कट्टेलले सय दिनको अवधिमा प्रदेशमा सरकार छ भन्ने कुराको अनुभूति नै गर्न नपाएको बताउनुभयो । उहाँले प्रमुख प्रतिपक्षको हैसियतले सरकारलाई नबरालिन र आफ्नो कर्तव्यमा केन्द्रित भई प्रदेश र प्रदेशवासीको हितमा काम गर्न आग्रह गर्न आएको बताउनुभयो ।

ध्यानाकर्षणपत्रमा प्रदेश सरकार संघीयताको मर्म र भावनाअनुसार सञ्चालन नभएको आरोप लगाइएको छ । प्रदेशवासीको सेवा, प्रदेश विकासको आकांक्षा र आवश्यकतालाई सम्बोधन गर्दै अगाडि बढ्नुपर्नेमा प्रदेश सरकार छ वा छैन भन्ने अवस्थामा पुगेको दाबी गरिएको छ ।

यस्तै, सुविधाजनक बहुमतमा प्रदेश सभाका दुई ठुला दलले सञ्चालन गरेको सरकारले जनअपेक्षाअनुसार संघीयताको संस्थागत सुदृढीकरण, सुशासन र तीव्र विकासमा केन्द्रित हुनुपर्नेमा त्यसो हुन नसकेको उल्लेख गरिएको छ ।

दीर्घकालीन महत्त्वका प्रदेश सडक गुरुयोजना, समुदायमा आधारित उत्पादन कार्यक्रम, वडा समाजवादी कार्यक्रम, प्रदेश विश्वविद्यालय सञ्चालन, प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम परिषद् स्थापना र सञ्चालन, गृहिणी महिला कार्यक्रम, दलित विकास कार्यक्रम, चेपाङ, चिउरी, चमेरो, खेलकुद पूर्वाधार, अस्पताल स्तरोन्नति तथा सुदृढीकरण कार्यक्रमलगायत प्रदेशका रणनीतिक योजनाहरू विनाराजनीतिक पूर्वाग्रह लागू गर्न आग्रह गरिएको छ ।

यसैगरी, समस्याग्रस्त सहकारीका समस्या समाधानका लागि तदारुकता देखाउन र १२ असोजमा मकवानपुरको इन्द्रसरोवर– ३ सिस्नेरी पहिरोमा परेर एन्फा एकेडेमीका ६ प्रशिक्षार्थी खेलाडीले ज्यान गुमाउनुपरेको घटनाको छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न पनि माओवादी केन्द्रले माग गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित