FLASH NEWS
  • Loading...

‘बीआरआईमा ऋण होइन, अनुदान लिने हो’ : सभापति देउवा

  • बागमती दैनिक
  • १ महिना अघि
  • ५४ पटक पढिएको
‘बीआरआईमा ऋण होइन, अनुदान लिने हो’ : सभापति देउवा

मंसिर १०, जनकपुर । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ परियोजना बीआरआईमार्फत अनुदानमा सहयोग लिइने बताएका छन् । उनले बीआरआईमार्फत ऋण नलिएर अनुदानमा सहयोग लिनुपर्ने कांग्रेसको अडान रहेको दोहोर्‍याएका छन् ।

‘बीआरआई परियोजनामा हामी प्रस्ट छौं । ऋण होइन अनुदान लिनुपर्छ,’ जनकपुर विमानस्थलमा सोमबार सञ्चारकर्मीसित कुरा गर्दै कांग्रेस सभापति देउवाले भने, ‘बीआरआई परियोजनामा छलफल जारी छ । छिट्टै एउटा निष्कर्षमा पुगिन्छ ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण फलदायी हुने पनि बताए । त्यस्तै सभापति देउवाले सत्ता गठबन्धनमा कुनै खटपट नभएको पनि बताएका । ‘संघीय सरकारमा कुनै खटपट छैन। यो गठबन्धन रहिरहन्छ,’ देउवाले भने, ‘मधेश प्रदेश सरकारको हकमा भने कांग्रेसको मात्रै निर्णयले पुग्दैन। अरु दलहरुले पनि निर्णय गर्नुपर्ने हुन्छ ।’

प्रजातन्त्र सेनानी अरबिन्द ठाकुरको शालिक अनावरण गर्न जनकपुर आइपुगेका देउवा केहीबेरमा लोहनामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् । देउवासँगै कांग्रेसका नेता बिमलेन्द्र निधि पनि जनकपुर आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणमा बीआरआई कार्यान्वयन योजना सम्झौतामा हस्ताक्षर गर्ने कि नगर्ने भन्ने विषयमा कांग्रेस र एमालेबीच समझदारी बन्न सकेको छैन । प्रधानमन्त्री ओलीले आगामी मंसिर १७ गतेदेखि चीन भ्रमण गर्दैछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित