- Loading...
जानाजान पैसा नभएको चेक दिनेलाई दुई बर्षसम्म कैद सजाय हुने
- बागमती दैनिक
- ३ महिना अघि
- ५९ पटक पढिएको
भाद्र २३, काठमाण्डौँ । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई बर्षसम्म कैद सजाय हुने भएको छ।
सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफलका क्रममा चेक अनादर भएको प्रमाणीत भएमा पाँच प्रतिशत जरिवानासहित १ महिनादेखि अधिकतम दुई बर्षसम्म कैद सजायको व्यवस्था उल्लेख गर्ने सहमति भएको हो।
१५ लाख सम्मको चेक अनादरमा १ महिना कैद, ५० लाख सम्मकोमा तीन महिना, १ करोडसम्मकोमा १ बर्ष र करोड भन्दा माथिको चेक अनादर प्रमाणीत भएमा दुई बर्षको कैद सजाय हुने बिषयमा सहमति जुटेको समिति सभापति सन्तोष चालिसेले बताए।
उनले सजाय दिएर पनि पैसा असुल नहुने अवस्थालाई पनि अन्त्य गर्नुपर्ने र पिडितलाई न्याय हुने गरिनै विधेयकलाई अन्तिम रुप दिने बताए। चेकको विश्वस्नीयताका लागि पनि कानूनलाई छिटै अन्तिम रुप दिएर पारित गर्नुपर्ने उनले बताए।
बैठकमा उपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेलले बैकिङ कसूर तथा सजाय सम्बन्धी विधेयकमा भएका छलफल सकारात्मक रहेको भन्दै दफावार छलफलका क्रममा आउने निष्कर्षलाई सरकारले स्वीकार गर्ने बताए। चेक अनादरको संख्या बढ्दै गएकाले यसलाई नियन्त्रण गर्न र चेक अनादरलाई निरुत्साहित गर्न सजायको व्यवस्था गरिएको उनले बताए।
त्यस्तै बैठकमा सांसद सूर्य थापाले चेक अनादरका घटनामा राष्ट्रिय मानकका आधारमा क्षतिपूर्ति वा व्याजको व्यवस्था राख्नुपर्ने र चेकका कारण विश्वासको संकट आउन दिन नहुने बताए।