- Loading...
दसैंका लागि खुलाएको अग्रिम बुकिङ सेवा बन्द
- बागमती दैनिक
- २ महिना अघि
- ९६ पटक पढिएको
असोज १७, काठमाण्डौँ । भीषण बाढी र पहिरोले देशका राजमार्गहरू ठप्प छन् । यसैकारण यातायात व्यवसायीले दसैंका लागि खुलाएको अग्रिम बुकिङ सेवा बन्द गरेको छ ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अघोषित रूपमा अग्रिम बुकिङ बन्द गरिएको बताए । उनी भन्छन्, ‘सरकारसँग सहमति गरेर, निर्णय नै गरेर बन्द गरिएको होइन । तर, काठमाडौंबाट देशैभर छुटेका गाडी सडककै कारण ३ दिनसम्म पनि सम्बन्धित ठाउँमा पुग्न सकेका छैनन् । जिल्लाबाट गाडी नआउँदासम्म हामीले यताबाट अन्य गाडी पठाउन सक्ने वातावरण छैन। यसैले पनि अग्रिम बुकिङ बन्द गरिएको हो। हरेक दिनका लागि सोही दिन नै टिकट लिन भने पाइन्छ ।’
यसैबीच गृहमन्त्री रमेश लेखक र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, यातायात मजदुर संगठनबीच बुधबार मन्त्रालयमा छलफल भएको छ । बाढी, पहिरो, डुबानलगायतका प्राकृतिक विपद्बाट अवरुद्ध राजमार्ग सडक पुनः सञ्चालन गरी यात्रा सहज बनाउने विषयमा छलफल भएको हो । यातायातको सहज र सुरक्षित सञ्चालन गर्ने, विपद्मा अवरुद्ध सडक सञ्चालन गरी चाडबाडका बेला सुरक्षित यात्राका बनाउने विषयमा छलफल भएको थियो ।
विपद्को स्थितिमा अझै धेरै राजमार्ग अवरुद्ध हुनुका साथै पहिरोको जोखिम पनि उत्तिकै छ । यसैले पनि दसैंका लागि अग्रिम बुकिङ सहज कार्यान्वयन गर्न नसकिएको सरोकारवालाले बताएका थिए । छलफलमा बीपी राजमार्गअन्तर्गत रोशी क्षेत्रमा अलपत्र परेका यातायात मजदुरलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।