FLASH NEWS
  • Loading...

नेपाललाई ऐतिहासिक कास्य दिलाएकी पलेशाले सरकारबाट ६५ लाख पुरस्कार पाउने

  • बागमती दैनिक
  • ३ महिना अघि
  • ११५ पटक पढिएको
नेपाललाई ऐतिहासिक कास्य दिलाएकी पलेशाले सरकारबाट ६५ लाख पुरस्कार पाउने

काठमाडौं । पलेशा गोवर्धनले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी छन् । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गए राति भएको के-४४ वर्गअन्तर्गत महिला ५७ किलोमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५-८ ले हराउँदै कास्य जितेकी हुन् ।

पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् । हिजैको पहिलो चरणको खेलमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० ले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान बनाएकी थिइन् । तर, क्वार्टर फाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेससङ १०-८ ले पराजित भएकी थिइन् । दोस्रो चरणमा पराजित भएका कारण उनले रिपाचेजमा मौका पाएकी थिइन् । जसमा फ्रान्सकी सेफी कार्भजनलेलाई २-१ ले पराजित गर्दै उनी कास्य नजिक पुगेकी थिइन् ।

गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा उनले स्वर्णपदक जित्दै पेरिस पारालिम्पिकमा छनोट भएकी हुन् । छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन् ।
उनी चीनमा भएको १९औं एसियाली खेलकुदकी पनि ऐतिहासिक कास्य पदक विजेता हुन् । नेपालले सन् २००४ को एथेन्ज पारा ओलम्पिकदेखि पारालिम्पिकमा सहभागिता जनाउन थालेको हो ।

१० वर्षको उमेरदेखि तेक्वान्दो खेल्न थालेकी पलेशा २०१६ मा पारा राष्ट्रिय टिममा आबद्ध भएकी थिइन् । त्यसयता उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी छन् । पारा तेक्वान्दो, जोर्डनमा २०१९ मा भएको पाँचौँ एसियाली पारा खुला तेक्वान्दो र २०१९ मै टोकियो पारालिम्पक गेम्सको टेस्ट इभेन्टमा पाँचौँ स्थान हासिल गरेकी थिइन् ।

यस्तै सन् २०१९ मा टर्कीमा भएको आठौं विश्व पारा तेक्वान्दोमा नवौं स्थान हासिल गरेकी पलेशाले साउदी अरबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा पनि सहभागिता जनाएकी थिइन् ।

सरकारबाट ६५ लाख पुरस्कार प्राप्त गर्ने
पलेशाले नेपाल सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछिन् । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार समर ओलम्पिक्स, विन्टर ओलम्पिक्स ,पारालिम्पिक्स, विशेष ओलम्पिक्स र विश्व कप फुटबल जित्नेलाई निर्धारण गरिएको पुरस्कार अनुसार पलेशालाई सरकारले ६५ लाख रुपैयाँ पुरस्कार स्वरुप दिनुपर्नेछ ।

नियमावलीमा व्यक्तिगततर्फ स्वर्ण पदक जित्नेलाई १ करोड ३० लाख, रजत पदक जित्नेलाई ९७ लाख र कास्य पदक जित्नेलाई ६५ लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था रहेको छ । यही व्यवस्था अनुरूप पलेशाले ६५ लाख नगद नेपाल सरकारबाट प्राप्त गर्नेछिन् । यसरी पुरस्कृत हुने उनी पहिलो नेपाली खेलाडी बन्नेछिन् । पलेशाका प्रशिक्षक कविराज नेगी लामाले ५ लाख ८५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । नेपाल तेक्वान्दो संघले ११ लाख ९२ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित