- Loading...
अराजकता, भ्रष्टाचार, बेथिति र निराशालाई चिर्दै नयाँ उत्साहका साथ अघि बढ्न अध्यक्ष प्रचण्डको अपिल
- बागमती दैनिक
- ३ महिना अघि
- १०६ पटक पढिएको
![prachanda1 अराजकता, भ्रष्टाचार, बेथिति र निराशालाई चिर्दै नयाँ उत्साहका साथ अघि बढ्न अध्यक्ष प्रचण्डको अपिल](https://www.bagmatidainik.com/wp-content/uploads/2023/10/prachanda1.jpg)
असोज ३, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमार्फत जनताले प्राप्त गरेका अधिकारको रक्षा, प्रयोग र थप परिस्कृत गर्दै जनताको अवस्था बदल्न दृढताका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन् । संविधान दिवस २०८१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत समाजवाद निर्माणको अभियानमा अघि बढ्नु अबको सुस्पष्ट बाटो भएको बताए ।
सबै प्रकारका अराजकता र निरङ्कुशतावादी सोचका विरुद्ध राष्ट्र र जनतालाई एकताबद्ध गर्नु नै संविधान दिवस मनाउनुको उद्देश्य भएको बताउँदै अध्यक्ष दाहालले संविधानप्रदत्त अधिकारलाई थप सुदृढ गर्नु सबैको जिम्मेवारी भएको उल्लेख गरेका छन् ।
‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान, जसले नेपालका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायलाई अधिकारसम्पन्न बनाएको छ र राज्यमा समानुपातिक समावेशी प्रतिनिधित्वलाई एक हदसम्म सुनिश्चित गरेको छ । यसलाई अझ सुदृढ गर्न अगाडि बढ्नु हामी सबैको जिम्मेवारी हो’, अध्यक्ष प्रचण्डको शुभकामना सन्देशमा भनिएको छ ।