- Loading...
माओवादी केन्द्रको विपद् व्यवस्थापन विभागले बुझायो प्रचण्डलाई प्रतिवेदन
- बागमती दैनिक
- २ महिना अघि
- ७८ पटक पढिएको
असोज १८, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्ने बताएका छन् ।
माओवादी केन्द्रको प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन विभागले विज्ञको टोलीसहित विपद् प्रभावित क्षेत्रको स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदन बुझ्दै उनले आफूले पहिलोपटक प्रधानमन्त्री भएदेखि व्यवस्थित बस्ती विकास र पूर्वाधार निर्माणमा जोड दिँदै आएको बताए ।
पहाडी क्षेत्रमा पहिरो र तराई तथा सहरी क्षेत्रमा बाढी र डुबानको सबैभन्दा बढी जोखिम अव्यवस्थित बस्ती र पूर्वाधारकै कारण देखिएको उल्लेख गर्दै अध्यक्ष दाहालले बाढीपहिरो, डुबान, भूकम्पलगायत विपद्बाट बच्न भौगर्भिक अध्ययनका आधारमा मात्र बस्ती विकास र पूर्वाधार निर्माण गर्न उपयुक्त हुने बताए ।
त्यसका लागि पार्टीको विपद् व्यवस्थापन विभागको पहलमा विज्ञले तयार पारेको प्रतिवेदन महत्त्वपूर्ण भएको बताउँदै प्रचण्डले यसका आधारमा सरकारसमक्ष ज्ञापनपत्र पेस गरिने बताए । वैज्ञानिक बस्ती विकास र पूर्वाधार निर्माणसँगै विपद् व्यवस्थापनका लागि पनि गतिलो समीक्षा गरेर प्रतिकार्यका योजना बनाउनुपर्ने दाहालको भनाइ छ ।