- Loading...
उपत्यकाको ११ स्थानमा हालसम्मकै ‘रेकर्ड ब्रेक’ गर्ने वर्षा
- बागमती दैनिक
- २ महिना अघि
- ७६ पटक पढिएको
असोज १४, काठमाडौँ । काठमाडौं उपत्यकाका ११ स्थानमा हालसम्मकै रेकर्ड ब्रेक गर्ने वर्षा भएका कारण ठूलो जनधनको क्षति हुन पुगेको जल तथा मौसम विभागले सार्वजनिक गरेको विवरणबाट पुष्टि भएको छ । विभागले आइतबार अबेर सार्वजनिक गरेको विवरणअनुसार यही असोज १२ गते (२४ घण्टासम्म) सङ्घीय राजधानी काठमाडौँका विभिन्न जलमापन केन्द्रहरुले रेकर्ड गरेको तथ्याङ्कअनुसार हालसम्मकै धेरै पानी परेको उल्लेख छ ।
विभागका महानिर्देशक जगदीश्वरमान कर्माचार्यका अनुसार बर्षाको विवरण राख्ने क्रम सुरु भएपछिको सबैभन्दा धेरै वर्षा मापन भएको हो । नेपालमा वर्षामापनको विवरण राख्न थालिएको ५४ वर्ष भयो । विभागका अनुसार, काठमाडौँको पानीपोखरीमा दुई सय छ दशमलव छ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ । काठमाडौँ विमानस्थलको वर्षामापन केन्द्रले दुई सय ३९ दशमलव सात मिलिमिटर बर्षा भएको जनाएको छ ।
बुढानिलकण्ठमा एक सय ७८ दशमलव तीन मिलिमिटर, जितपुरफेदीमा एक सय ७८ दशमलव तीन मिलिमिटर, नागार्जुनमा दुई सय पाँच दशमलव चार मिलिमिटर वर्षा भएको मापन गरिएको छ । ललितपुरको गोदावरी, खुमलटार, टिकाथली, खोकना, चापागाउँ वर्षामापन केन्द्रले पनि रेकर्ड ब्रेक गर्ने वर्षा भएको मापन गरेको छ । भक्तपुरको नखेल वर्षामापन केन्द्रले एक सय ९४ दशमलव पाँच मिलिमिटर वर्षा भएको मापन गरेको छ ।