- Loading...
नेपालीहरूको महान् पर्व बडादशैं आजबाट सुरु, आज घर-घरमा घटस्थापना गरिँदै
- बागमती दैनिक
- २ महिना अघि
- ५९ पटक पढिएको
असोज १७, काठमाण्डौँ । नेपालीहरूको महान् पर्व बडादशैं आज बिहीबारदेखि शुरू भएको छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन बिहीबार बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरेपछि यसपालिको दशैं शुरू हुनेछ ।
धेरैले बिहानको समयमा घटस्थापना गर्ने भए पनि साइतै खोज्नेहरूका लागि भने नेपाल पञ्चांग निर्णायक विकास समितिले घटस्थापनाका लागि बिहान ९ बजेर १६ मिनेटको शुभसाइत तोकेको छ । फुर्सद हुने र साइत खोज्नेले बिहान ९ बजेर १६ मिनेटकोे शुभ समयमा जमरा राखेर घटस्थापना गर्दा राम्रो हुने समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार बिहानको समयमा घटस्थापना गर्दा राम्रो हुनेछ ।
आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म चल्ने नेपालीको महान पर्व दशैंलाई असत्यमाथि सत्यको विजयका रूपमा लिने गरिन्छ। घटस्थापनाको दिन पूजाकोठा, दशैंघर अथवा कोतमा दियो कलश र गणेश थापी नवदुर्गाको स्थापना गर्ने चलन छ। कतैकतै भने ब्रह्माको पनि स्थापना गरिन्छ । घटस्थापनाका दिन पूजा कोठामा घैटो अथवा घडामा जलभरि माथिपटि आँप, चाप, वरपिपलको पात राख्ने परम्परा छ । यो घडा वरिपरि गाईको गोबर टाँसेर त्यहाँ जौ उमार्ने प्रचलन रहेको छ।
कलशको स्थापना गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँबाट ल्याइएको चोखो बालुवा या माटोमा जौ छरिन्छ । बिहानै उठेर नुहाइधुवाइ गरी चोखो भएर पूजाकोठामा बालुवा अथवा चोखो माटो राखी जौ र मकैको बीउ छर्ने गरिन्छ ।
त्यहीँनजिकै थालीमाथि सुनको प्रतिमा राखी नवदुर्गा थाप्दै १० दिनसम्म पूजा गर्ने गरिन्छ । कहीँकहीँ मकै र गहुँको प्रयोग भए पनि अधिकांश स्थानमा जौ छर्ने प्रचलन रहेको छ । यसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रूपमा लगाउने गरिन्छ । नवदुर्गा देवीको पूजा अर्चनापश्चात् दशमीका दिन त्यहाँबाट जमरा निकालिन्छ भने पूर्ण कलशको जलको अभिषेक पनि लिने चलन छ ।
समितिका अनुसार असोज २६ गते शनिवारका दिन विजया दशमीकादिन देवी विसर्जन गरी प्रसादस्वरूप टीका लगाउने गरिन्छ । यस वर्ष दशैंको टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ ।