- Loading...
निगमका दुई जहाज बिग्रिएपछि डेढ सय कर्मचारी कामविहीन
- बागमती दैनिक
- ३ दिन अघि
- २८ पटक पढिएको
पौष १६, काठमाण्डौँ । नेपाल वायुसेवा निगम नेवानिका दुईवटै ट्विनअटर विमान बिग्रिएर उडान ठप्प भएपछि आन्तरिकतर्फ कार्यरत पाइलट र इन्जिनियरसहित करिब डेढ सय कर्मचारी कामविहीन बनेका छन् ।
निगमका ट्विनअटर ९एन–एबिटी २३ जेठदेखि र ९एन–एबियू ७ पुसदेखि उडान आवर सकिएर ग्राउन्डेड गरिएका छन् ।
निगमले दुईवटा ट्विनअटर विमानबाट सातामा देशका १८ गन्तव्यमा उडान गर्दै आइरहेको थियो । उडान ठप्प भएपछि इन्जिनियर, पाइलट, प्राविधिकदेखि सेल्स र सपोर्ट स्टाफसम्म कामविहीन बनेका हुन् । निगममा आन्तरिकतर्फ १९ इन्जिनियर, करिब ५० प्राविधिक टेक्निसियन र सपोर्ट स्टाफ, स्थायी र अस्थायी गरी १५–१६ जना पाइलट तथा एयरहोस्टेस र उपत्यकाबाहिर करिब ४० कर्मचारी कार्यरत रहेको स्रोतको भनाइ छ । ट्विनअटर उडाउनका लागि अस्थायी पाइलट पनि छन्, मासिक सातदेखि १० लाखसम्म तलब खाने पाइलट जहाज ग्राउन्डेड भएसँगै फुर्सदिला भएका छन् । निगममा पाइलटदेखि कर्मचारीसम्म कन्ट्र्याक्टमा काम गर्ने धेरै छन्, जसलाई मासिक करोडौँ तलब–भत्तामा खर्चिनुपर्छ ।
निगमले दुईवटा ट्विनअटर विमानबाट विराटनगर, नेपालगन्ज, डोल्पा, सिमिकोट, दाङ, सुर्खेत, मुगुको ताल्चा, जुम्ला, बाजुरा, रुकुम, थामखर्क, खानीडाँडा, भोजपुर, फाप्लु, ताप्लेजुङ, रेसुङ्गा, इलाम, रुम्जाटारलगायत विमानस्थलमा उडान गर्दै आइरहेको थियो । निगमले नेपालगन्जलाई बेस बनाएर पश्चिम क्षेत्रका सातवटा गन्तव्यमा उडान गर्न मात्रै ११ कर्मचारी कार्यरत छन् ।